काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने भएका छन् ।
अघिल्लो संसदीय निर्वाचनमा कांग्रेसले नै जितेको उक्त क्षेत्र गठबन्धनमा कांग्रेसको भागमामा परेको छ । त्यस क्षेत्रबाट अघिल्लो पटक चुनाव जितेका अमरेश सिंहको नाम यसपटक उम्मेदवारको रुपमा क्षेत्रबाट सिफारिसमै परेको थिएन । क्षेत्र र जिल्लाले गगन थापाको एकल नाम सिफारिस गरेर पठाएको थियो । थापाको एकल नाम सिफारिस भए पनि उनी चुनाव लड्न जाने कि नजाने भन्ने निश्चित भएको थिएन ।
सर्लाही ४ बाट चुनाव लड्ने सन्दर्भमा थापाले त्यहाँका कांग्रेस नेता, मतदाता र गठबन्धन दलका स्थानीय नेताहरुसँग अनेकौ पटक वार्ता गरेका थिए । वार्ता गरे पनि उनले सर्लाहीबाटै चुनाव लड्ने विषयमा अन्तिम निर्णय भने दिएका थिएनन् । शनिबार अपरान्ह थापा चुनाव लड्न सर्लाही जाने तय भएको थापा निकट स्रोतले जानकारी दिएको छ । थापाले आफू निकट केही व्यक्तिलाई सर्लाहीबाट चुनाव लड्ने जनाउ दिएका हुन् ।
कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले महामन्त्री थापा सर्लाही ४ बाट चुनाव लड्नेमा आफू विश्वस्त भएको बताए । ‘हामीलाई महामन्त्रीले चुनाव लड्न सर्लाही जाने संकेत गरिसक्नु भएको छ,’ सिंहले भने, ‘उहाँ सर्लाहीबाटै चुनाव लड्नु हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ थापा चुनाव लड्न जाने क्षेत्रमा तयारी थालिसकिएको सिंहले जानकारी दिए ।
सिंह थापालाई सँगै सर्लाही लैजान काठमाडौंमै छन् । पार्टी सभापति सिंह पनि थापा लड्ने निर्वाचन क्षेत्रकै मतदाता हुन । थापालाई त्यहाँ लैजान सिंहले अमरेशको नाम क्षेत्रबाट सिफारिस हुनबाट रोकेका थिए ।