पोखराको माझिकुनास्थित बेगनासतालमा डुङ्गा पल्टिँदा एक पुरुषको मृत्यु छ ।पोखराको बेगनास तालमा डुङ्गा लिएर सयर गर्न गएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो ।
पोखरा-१३ बाझापाटन घर भएका गुरुङ माझिकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएका थिए । उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन् ।
करिब साढे चार बजे डुबेका गुरुङको शव करिब दुई घण्टापछि फेला परेको थियो । पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका मृतक गुरुङ चाडबाड मनाउन नेपाल आएको जनाइएको छ । लाइफ ज्याकेट नलगाई आफै डुङ्गा लिएर जाँदा दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् ।