काठमाडौं । नाबालिग ब-लात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । अनुुसन्धान नसकिएकाले अझै केही दिन म्याद थपको माग गरिएको प्रहरीले जानकारी दियो ।
काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । अन्य थुनुवासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् ।
एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । निरास देखिन्छन् । अन्य थुनुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बला-त्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बला-त्कार गरेको जाहेरीमा उल्लेख छ ।
सोही जाहेरीका आधारमा उनलाई असोज २० गते कतार एयरवेजको जहाजबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारिसकेको छ ।
सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । सन्दीपले प्रहरीसँगको साबिती किशोरीसँगै होटलमा गएर बसेको तर बला-त्कार नभएको बताएका छन् । उनले किशोरीकै आग्रहमा होटलमा बस्न बाध्य भएको जिकिर समेत गरेका छन् ।
यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए ।