काठमाडौं । नाबालिगमाथि ब-लात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा नाबालिग बला-त्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।
प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई बला-त्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पीडित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।
सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बयान, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।
एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”
सन्दीपले सरकारी वकिलको कार्यालयमा र प्रहरीलाई दिएको साबितीमा आफूले एक क्रिकेट खेलाडीमार्फत आफूलाई आरोप लगाउने किशोरीलाई चिनेको बताएका छन् । उनले आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौ-नजन्य कार्य नगरेको जिकिर गरेका छन् ।
त्यसबाहेक सन्दीप र उनका कानुन व्यवसायीले पीडित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ । एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पीडितको उमेर अहिले १७ वर्ष छ ।