काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।
अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।
सो होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् । पीडित किशोरी अहिले माइती नेपालको संरक्षणमा छन् । भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए ।
केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौ-नजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।
प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई बलात्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पीडित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।
सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बयान, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।
एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”