काठमाडौं । एकै परिवारबाट फिल्मी क्षेत्रमा आएका दाजु–भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी मुम्बईमा बस्न थालेका छन् ।पछिल्लो पटक फिल्म ‘द ब्रेकअप’मा देखिएका आशिरमान देशराजले डेढ वर्षदेखि मुम्बईमा बसेर फिल्म मेकिङको कोर्ष गरिरहेका छन् ।
आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँग विवाह गरेपछि फिल्म ‘चि मुसी चि’मा अभिनय गरे, जुन पुष २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।उनीहरुकी आमा तथा मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हालै मुम्बईमा एउटा फ्ल्याट खरिद गरेको र सोही फल्याटमा दुई दाजुभाइ बस्न थालेको बताइन्छ ।
आमा देशराजलेपनि बैकको सिइओको जागिर छोडेर छोराहरुका लागि मुम्बईमा नै बस्ने योजना बनाएकी छिन् । उनको तलब बार्षिक झण्डै दुई करोड पुग्थ्यो ।केही दिनअघि उनले मुम्बईमा किनेको फ्ल्याटको भिडियो इन्स्टाग्राममा सेयर गरेपछि यो कुराले पनि दाजु–भाई उतै बस्न लागेको कुरालाई बल पुगेको हो ।
उनले बुधवार इन्स्टा स्टोरीमा आयुष्मानको प्रि–बर्थडे सेलिब्रेसन गरेका तस्बिर तथा भिडियोहरु पोस्ट गरेकी छन् ।उनीहरुको साथमा मुम्बईमा बस्दै आइरहेकी अभिनेत्री परमिता आरएल राणा पनि छिन् । बाक्लै रुपमा मुम्बई आउ–जाउ गरिरहेकी रविनाले दुई छोराका लागि मुम्बईमा फ्ल्याट किनेको र आफूपनि उतै सिफ्ट हुने तयारीमा छिन् ।
यो पनि – चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दी वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि सूर्य कर्पोरेसनसँग सम्झौता गरेको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको व्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सीईओ वासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो ।
दुबईमा २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते) सम्म यो कार्यक्रमको आयोजना हुँदै छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटाल गरी नेपाली फिल्मको प्रदर्शनी, नेपालबाट जाने तथा यूएईमै रहने कलाकारका विभिन्न प्रस्तुति, यूएईमा नेपाली फिल्मको बजार विस्तार तथा छायांकन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधिहरु,
त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्ति तथा कलाकर्मीबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मिङ डेस्टिनेसन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ ।
पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तारको पहलका लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको यूएईमा नेपाली फिल्मको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा फिल्म प्रदर्शनीको वातावरण मिलाउन,
नेपाल आफैंमा एक खुला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, यूएई र नेपालको कलासंस्कृतिको सहकार्यताका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । नेपालबाट नजिक भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई कार्यक्रम आयोजनास्थल रोजेको केसीले बताए ।