एजेन्सी, पुस १५
अघिल्लो आइतबार कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि लियोनल मेस्सीको टिम अर्जेन्टिनाले जित्यो । अर्जेन्टिनाले साबिक च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर उपाधि चुमेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि चुम्दा मेस्सीले भने करियरमा पहिलोपटक उपाधि जिते । फाइनल खेलको निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिँदा मेस्सीले १ पेनाल्टी सहित २ गोल गरेका थिए भने पराजित फ्रान्सका एमबाप्पेले २ पेनाल्टीसहित ह्याट्रिक गोल गरेका थिए । मेस्सी फाइनल खेलको म्यान अफ् द म्याच घोषित हुँदा उनी आफैं ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ पनि बने ।
यता, फ्रान्सका एमबाप्पेले फाइनलमा ह्याट्रिक गोल गर्दै कूल ८ गोलका साथ गोल्डेन बुट जिते । फाइनल खेल ७९औं मिनेटसम्म पुग्दा फ्रान्स २–० ले पछि थियो । तर, एमबाप्पेले ८०औं र ८१औं मिनेटमा २ गोल गरेर खेल बराबरी बनाएपछि खेल रोमाञ्चक तरिकाले थप समयमा गएको थियो । त्यहाँ पनि १–१ गोल भएपछि खेलको अन्तिम स्कोर ३–३ हुँदा पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ अर्जेन्टिनालाई भाग्यले साथ दियो भने ब्याक टु ब्याक विश्वच्याम्पियन बन्ने सपनामा पानी पोखियो । बडा रोमाञ्चक र सनसनीपूर्ण फाइनल खेलमा उपाधि जितेपछि मेस्सी र अर्जेन्टिनी टिम उपाधि सेलिब्रेसनमा लाग्यो ।
उता, पराजित फ्रान्सका प्रमुख खेलाडी केलियन एमबाप्पे भने बेन्चमा गएर झोक्राएर बसिरहेका थिए । उपविजेताको मेडल थाप्दा एमबाप्पे निकै निराश थिए । उनी कुनै क्षण हाँसेनन् । अर्जेन्टिनाका विजेता खेलाडीका साथमा गोल्डेन बुट बोकेर फोटो खिचाउँदा पनि एमबाप्पे हारको पीडामा डुबिरहेका थिए । यसरी विश्वकपको फाइनल हारेर रंगशालाबाट बिदा भएका एमबाप्पेले सोही रात बसेको होटेलबाट विश्वकप विजेता मेस्सीलाई बधाई सन्देश पठाएको उनले खुलाएका छन् । विश्वकपपछि क्लब पिएसजी फर्किएर पहिलो खेल खेलपछि उनले मिडियासँग प्रतिक्रिया दिँदै आफूले मेस्सीलाई केही घन्टापछि नै बधाई सन्देश पठाएको बताएका हुन् ।
विश्वकपको फाइनलमा पराजित भएर पीडामा डुबिरहेका बेला एमबाप्पेले केहीबेरमै मेस्सीलाई बधाई सन्देश दिए । तर, अर्जेन्टिनी टोली उपाधि जितेर देश फर्किएपछि उत्सव मनाउने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले भने निकै फोहोरी र अश्लील तरिकाले एमबाप्पेको मजाक उडाएका थिए । आफ्ना गोलकिपरले त्यस्तो हर्कत गरिरहँदा कप्तान मेस्सी भने छेवैमा उभिएर हाँसिरहेका थिए । जसका कारण मेस्सीको आलोचना पनि भयो । राष्ट्रिय टिमका सहकर्मीले क्लब पिएसजीका सहकर्मी एमबाप्पेको मजाक उडाउँदा पनि मेस्सीले नरोकेको भन्दै आलोचना भएको थियो । सो विषयमा हालसम्म मेस्सीले केही बताएका छैनन् ।
तर, एमबाप्पेले भने विश्वकपको फाइनल भएको रात नै आफूले मेस्सीलाई विश्वविजेता बनेकोमा बधाई सन्देश दिएको बताएका छन् । अघिल्लो रात लिग १ मा स्ट्रासवर्गविरुद्धको खेलपछि कुरा गर्दै एमबाप्पेले मेस्सीलाई बधाई दिन आफूले ढिला नगरेको बताएका छन् । उनले भनेका छन्– ‘विश्वकपको फाइनलपछि मैले मेस्सीलाई त्यही रात होटेलबाट बधाई दिएको थिएँ । मैले ढिला गरिनँ । खेलमा एकले हार्ने र एकले जित्ने हो । त्यो रात मेस्सी र अर्जेन्टिनामो थियो, हाम्रो थिएन । मैले मेस्सीका लागि खुसी हुँदै बधाई दिएँ । उनले मलाई कृतज्ञता जनाए । र, मैले सन्देशको अन्तमा उनलाई भनेको थिएँ– चाँडै पेरिसमा भेटौंला ।’
एमबाप्पेले विश्वकपको हार बिर्सेर आफूले पिएसजीमा ध्यान केन्द्रित गरिसकेको पनि बताएका छन् । मेस्सी पिएसजी फर्किन अझै केही दिन लाग्ने भएकाले आफू र टिमले मेस्सीलाई याद गरिरहेको पनि एमबाप्पेले बताए । ‘मैले विश्वकपको हार भुलेर पिएसजीमा केन्द्रित भइसकेको छु । म हारको पीडामा अल्झेर बस्दिनँ । नयाँ कुराका लागि पाइला चालिसकेको छु । पिएसजीमा हामी मेस्सीको फिर्तीको पर्खाइमा छौं । हामी उनलाई याद गरिरहेका छौं,’ एमबाप्पेले थपे ।
🗣Kylian Mbappé :
“Emiliano Martinez's celebrations? It’s not my problem. I don't waste energy on such things. The most important thing for me is to give the best of myself for my club. I’m waiting for Leo to comeback so we keep winning together and scoring more goals” pic.twitter.com/51aU9Dz3ck
— PSG Chief (@psg_chief) December 28, 2022