काठमाडौं ।
सबैलाई चकित बनाउँदै पोर्चुगलका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भए। रोनाल्डो आफैँले केही महिनाअघि एक अन्तर्वार्तामा आफूले युरोपको कुनै ठूलो नाम भएको क्लबबाट फुटबल करियरको अन्त्य गर्ने बताएका थिए।
यस्तै साउदी अरेबियन क्लबबाट निम्तो आएको भएपनि आफू पैसाकै लागि त्यस्ता क्लबबाट नखेल्ने उनले अन्तर्वार्तामै बोलेका थिए। तर, अप्रत्यासित विश्वकप यात्रा अनि त्यसपछिको बदलिँदो परिस्थितिमा रोनाल्डोले यस्तो निर्णय लिए जुन उनैले अस्वीकार गर्दै आएका थिए।
यद्यपि यो रोनाल्डोका प्रशंसकलाई मात्र स्तब्ध बनाउने निर्णय हो। उनलाई व्यक्तिगतरूपमा भने फाइदै फाइदा छ। ३७ वर्षीय रोनाल्डोले अब वार्षिक १७ करोड ७० लाख पाउन्डभन्दा बढी तलब लिनेछन्। हालको विनिमय दरअनुसार यो भनेको २८ अर्ब नेपाली रुपैयाँ हो। र रोनाल्डो हालसम्मै सर्वाधिक महँगो खेलाडी पनि बनेका छन्।
यस्तै रोनाल्डोले साउदीको लिगमा अब थुप्रै व्यक्तिगत कीर्तिमान बनाउन पनि सक्नेछन्। रोनाल्डो र अल नासरबीच सहजै ‘डिल फिक्स’ भएको पनि होइन। दुवै पक्षले ४० दिनदेखि वार्ता गरिरहेका थिए। गत विश्वकपमै पनि रोनाल्डोलाई अल नासरमा अनुबन्ध हुनेबारे सोधिएको थियो। त्यसबेला रोनाल्डोले यो खबर गलत भएको र आफू नजाने बताएका थिए। यद्यपि उनी आफ्नो भविष्य साउदीमा रहेको बारे भने सचेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्काले लेखेको छ।
मार्काले नै रोनाल्डोलाई साउदी क्लब अल नासरले प्रस्ताव गरेको खबर ब्रेक गरेको थियो। मार्काका अनुसार युरोपको उच्चस्तरीय क्लबमा अनुबन्ध हुनु रोनाल्डोका लागि असम्भव जस्तै थियो। र यसबारे रोनाल्डो आफैँ पनि जानकार थिए। विश्वकपबाट क्वार्टरफाइनलमा बाहिरिएपछि रोनाल्डो मड्रिड पुगेका थिए। त्यहाँ उनले रियल मड्रिडको मैदानमा अभ्यास गर्ने अनुमति पनि लिएका थिए।
रोनाल्डो एकतरिकाले विश्वस्त थिए- रियल मड्रिडले उनलाई अनुबन्ध गर्छ भनेर। मार्काका अनुसार रोनाल्डोले रियल मड्रिडबाट फोन आउँछ भनेर कुरेका थिए। तर, रियल मड्रिडले उनलाई मैदान मात्र दियो, टिममा स्थान दिनेबारे केही बताएन। रोनाल्डोले कुरिरहे, तर रियल मड्रिडबाट फोन आएन।
‘एसियन क्लब’ मा आवद्ध भएपछि रोनाल्डोले प्रतिक्रिया दिएका छन्। ‘म भाग्यशाली छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि गरेको सबै कुरा जितेको छु । र, अहिले एसियामा आफ्नो अनुभव बाँड्ने यो उपयुक्त समय हो भन्ने महसुस गरेको छु,’ रोनाल्डोले विज्ञप्तिमा भनेका छन्, म मेरो नयाँ टोलीका साथीहरूसँग सामेल हुन उत्सुक छु । उनीहरूसँग मिलेर क्लबलाई सफलता हासिल गर्न मद्दत गर्दछु ।’