काठमाडौं ।
पोर्चुगिज फुटबलर स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया आइपुगेका छन् । अल–नासर क्लबबाट लिग खेल्न उनी परिवारसहित साउदी आइपुगेका हुन् । उनी सोमबार राति मड्रिडबाट रियादको किङ खालेद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।
रोनाल्डोलाई आज अल–नासर क्लबले भव्य औपचारिक स्वागत समारोहको आयोजना गरेको छ । उनका लागि मंगलबार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ । जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन् । रोनाल्डोले अल–नासरमा कहिले डेब्यु गर्ने भन्ने विषयमा क्लबले घोषणा गर्न बाँकी छ ।
अल–नासरले आफ्नो कदमलाई ‘इतिहास बनाउन’ भनेको छ । यसले साउदी लिगलाई धेरै कोणबाट लाभ मिल्ने बताइएको छ । रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन् । फुटबल इतिहासमा यो रकम कुनै पनि खेलाडीले पाएको अहिलेसम्मकै बढी पारिश्रमिक हो ।
३७ वर्षीय रोनाल्डोले एसियन मुलुकमा नयाँ लिगको अनुभव बटुल्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । ‘मलाई के कुरामा खुसी लाग्छ भने मैले सबैजसो उपाधि जितेको छु । मैले यी सबै उपाधि जित्दा युरोपेली फुटबलको माध्यमबाट जितेको छु । र, यो अनुभव एसियामा बाँड्ने यो सबैभन्दा उत्तम समय हो भन्ने मलाई लागेको छ,’ रोनाल्डोले अनुबन्धपछि भनेका छन् ।
९ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई क्लबमा भित्र्याउनु नै इतिहास निर्माण गरेको बताएको छ । ‘यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट संस्करण हुन प्रेरित गर्नेछ’, क्लबले भनेको छ । अल–नासरका अध्यक्ष मुसल्ली अल–मुअम्मरले यो सम्झौतालाई ऐतिहासिक अध्याय भन्दै विश्वका सबै युवा खेलाडीका लागि उच्च उदाहरण भएको प्रतिक्रिया दिए ।