एजेन्सी – सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको फुटबल क्लब अल नासरमा औपचारिक अनुबन्धित भएका छन्। केहि समय देखि क्लब बिहिन रहेका रोनाल्डोले मंगलबार राति साउदीको रियाद पुगेर सम्झौतामा हस्ताक्षर गरे।
गत राति साउदीको राजधानी रियादको अल नासर मिसुल पार्क स्टेडियममा आतिशवाजीसहित अल नासर क्लबले उनको औपचारिक स्वागत गर्यो। सम्झौतामा हस्ताक्षर गरेपछि रोनाल्डोले विभिन्न खुलासाहरु गरे।
त्यसक्रममा उनले आफू युरोप, अमेरिकामा क्लब नपाएर साउदी आइपुगेको चर्चालाई सिधै खारेज गरे। रोनाल्डोका अनुसार विश्वभरका क्लबले रोनाल्डोलाई भित्र्याउने प्रयास गरेका थिए।
युरोप, अमेरिका, अष्ट्रेलिया, ब्राजिल र पोर्चुगलका क्लबहरुले आफूलाई भित्र्याउन खोजेको रोनाल्डोको भनाई छ। आफू पछाडी विश्वभरका कति क्लब थिए भन्ने कुरा कसैलाई थाहा नरहेको रोनाल्डोको भनाई छ।
“यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो। मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ”,रोनाल्डोले भने।
शुक्रबार फ्रि एजेन्टको रुपमा अल नासरसँग सम्झौता गरेका रोनाल्डोलाई मंगलबार राती क्लबले स्वागत गरेको थियो । रोनाल्डोको स्वागतका लागि क्लबले भव्य समारोह आयोजना गरेको थियो ।
झन्डै २५ हजार समर्थक अट्ने रंगशाला पूर्ण रुपमा भरिएको थियो भने रोनाल्डोले २० मिनेट समय मैदानमा बिताएका थिए । त्यसपछि उनले टोलीसँग प्रशिक्षण पनि गरे ।
३७ वर्षीय फरवार्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता तोडेपछि विश्वकप दौरान क्लबविहिन थिए । रोनाल्डोले आफू साउदीमा आउनु बाध्यता नभएर आफ्नो रोजाई रहेको संकेत गरे ।
साउदीको फुटबल क्लबमा अनुबन्धित हुँदै रोनाल्डोले आफूलाई एक अद्वितीय खेलाडीको रूपमा वर्णन गरे । आफ्नो क्यारियर समाप्त नभएको उनले बताए । ३७ वर्षीय पोर्चुगिज सुपरस्टार रोनाल्डोले युरोपमा आफूले गर्न सक्ने सबै गरेको बताएका छन् । नयाँ केही गर्ने भोक बाँकी रहेकाले अल नासरमा आएको उनको भनाइ थियो ।
‘साउदी अरेबिया आउनु मेरो करियरको अन्त्य होइन। यही कारणले गर्दा म परिवर्तन भएको छु र साँच्चै भन्नुपर्दा मानिसहरूले के भन्छन् भन्नेमा म चिन्तित छैन,’ रोनाल्डोले भने।