काठमाडौं, पुस २०
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो उमेरले ३८ वर्ष नजिक पुग्दै गर्दा अप्रत्यासित रूपमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएपछि यसको चर्चा र सारगर्मी अझै तातै छ । गत राति मात्रै अल नासरले आफ्नो घरेलु मैदानमा ५ पटक बालोन डिओर विजेता रोनाल्डोलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिसेम्बर ३१ तारिखमा अनुबन्धको घोषणा गरेको अल नासरले रोनाल्डोलाई चौथो दिन क्लबको निलो–पहेंलो जर्सीमा घरेलु मैदान मिसूल पार्कमा आइकनिक ७ नम्बर जर्सीमा सार्वजनिक गर्यो । रोनाल्डोको सार्वजनिकीकरण कार्यक्रममा हजारौं मानिस टिकट काटेर रंगशाला पुगेका थिए ।
के रोनाल्डो पैसाकै लागि साउदी क्लब गएका हुन् ?
बढ्दो उमेर बीच पनि रोनाल्डोले अझै एक वा दुई सिजन युरोपका शीर्ष क्लबमै फुटबल खेल्न सक्ने अनुमान थियो । कतारमा विश्वकप चलिरहँदा नै अल नासरले रोनाल्डोलाई महँगो तलबको प्रस्ताव गरेको चर्चा सुरु भए पनि रोनाल्डोले युरोपमै रहन चाहेको र उनले साउदीको प्रताव इन्कार गर्ने धेरैको बुझाइ थियो । तर, रोनाल्डोले धेरैको अनुमानबिपरीत एसियाली राष्ट्रय साउदी अरबको क्लब रोजे । साउदी अरबको फुटबलको चर्चा छैन भन्दा पनि हुन्छ । अस्तिको विश्वकपमा अर्जेन्टिनालाई साउदीले पहिलो खेलमै २–१ ले हराएपछि साउदीले विश्वको ध्यन तानेको थियो । यसबाहेक त्यहाँको क्लब फुटबल एसियामै गुमनामजस्तै छ । युरोपमा त कुरै छाडौं ।
३८ वर्ष पुग्न लाग्दा रोनाल्डोले अप्रत्यासित रूपमा साउदी क्लब जाने निर्णय लिएपछि उनको धेरैले आलोचना गरेका छन् कि, रोनाल्डोले पैसाकै लागि साउदीको क्लब जाने निर्णय लिए । कम तलबमा खेल्न सहमति भएको भए उनलाई युरोपकै कुनै क्लबले अनुबन्ध गर्न सक्थ्यो । तर, पैसा कमाउनकै लागि रोनाल्डोले साउदीको क्लब रोजेको भनेर उनकै कतिपय समर्थक असन्तुष्ट बनेका छन् भने आलोचक हात धोएरै लागेका छन् । नहोस् पनि किन ! रोनाल्डोले अल नासरमा अनुबन्ध हुने निर्णय लिनु उनकै प्रिय समर्थकहरूका लागि पनि नसोचेको थियो । रोनाल्डोले यो निर्णय लिँदैछन् भनेर कोही पनि तयार थिएन । यो एकदमै नसोचेको सरुवा थियो ।
यसरी बगाउँदैछ रोनाल्डोका लागि साउदी क्लबले पैसाको खोलो
यो चर्चा अब सानो वा फैलिन बाँकी रहेको विषय बनेन । किनकि, अल नासरले रोनाल्डोलाई विश्व रेकर्ड तलब दिने गरी अनुबन्ध गरेको छ । अस्ति भर्खर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सहमतिमा सम्झौता तोडेपछि रोनाल्डो फ्री एजेन्ट थिए । रोनाल्डो अनुबन्धका लागि १ रुपैयाँ पनि पैसा तिर्नु नपर्दा अल नासरले रोनाल्डोका लागि तलबमा भने पैसाको खोलो नै बगाएको छ । रोनाल्डोले साउदी क्लबमा पाउने तलबलाई ‘फुटबल इतिहासकै सबैभन्दा उच्च तलब’ भनिएको छ, जहाँ रोनाल्डोले तलब र क्लबले दिने बोनस समेत गरी एक वर्षमा २०० मिलियन युरो बराबर पैसा पाउनेछन् ।
करियरको मस्त उमेरमा पनि एक वर्षमा ३० मिलियन युरोभन्दा बढी तलब नपाएका रोनाल्डोले ३८ वर्ष पुग्न लाग्दा फुटबलको इतिहासमा आजसम्मकै सबैभन्दा धेरै तलब लिएर साउदी लिग खेल्ने भएका छन् । विश्वभरका मिडियाले यसको पुष्टि गरेका छन् कि, रोनाल्डोले अल नासरमा पाउने वार्षिक २०० मिलियन युरो तलब फुटबलको इतिहासमा आजसम्मकै सबैभन्दा बढी हो । अल नासरमा रोनाल्डोले अढाई वर्षका लागि सम्झौता गरेका छन् । उनले एक सिजनमा २०० मिलियन पाउँदा सम्झौता अवधिभरि अल नासरमा रहे उनले अढाई वर्षमा ५०० मिलियन युरो तलब पाउनेछन् । यो ज्यादै ठूलो तलब हो ।
अल नासरमा रोनाल्डोले एक वर्षमा पाउने तलब नेपाली रुपैयाँमा २८ अर्बभन्दा बढी हुन आउँछ । २ वर्षमा उनले ५६ अर्बभन्दा ज्यादा पाउनेछन् भने अढाई वर्षको समझौतारि क्लबमा रहेको खण्डमा उनले ७० अर्बभन्दा बढी नेपाली रुपैयाँ कमाइ गर्नेछन् । रोनाल्डोले एक वर्षमा पाउने २०० मिलियनमा तलब, बोनस र जर्सी बिक्री बापतको बोनस सबै समावेश छ । क्लबसँगको सबैखाले व्यावसायिक आर्थिक सम्झौता २०० मिलियन भित्रै समावेश हुनेछ । यति भइकन पनि उनले पाउने तलब ज्यादै बढी हो । अहिले रोनाल्डोका खास प्रतिस्पर्धी पिएसजीका लियोनल मेस्सील्े एक सिजनमा ३५ मिलियन युरो मात्रै तलब पाउँछन् ।
त्यसो भए एक वर्षमा २०० मिलियन युरो तलब लिने रोनाल्डोको तलबलाई ‘ब्रेकडाउन’ गर्दै जाँदा कति होला त ? त्यो पनि कुरा गरिहालौं । यसको सूची तल हेरौं–
प्रतिवर्ष– २०० मिलियन युरो (नेपाली २८ अर्बभन्दा बढी)
प्रतिमहिना– १६.६७ मिलियन युरो (नेपाली २ अर्ब ३२ करोडभन्दा बढी)
प्रतिसाता– ३.८८८ मिलियलन युरो (नेपाली ५४ करोड ३१ लाख भन्दा बढी)
प्रतिदिन– ५,५५,५५५ युरो (नेपाली ७ करोड ७६ लाखभन्दा बढी)
प्रतिघण्टा– २३१५० युरो (नेपाली ३२ लाखभन्दा बढी)
प्रतिमिनेट– ३८६ युरो (नेपाली ५४ हजार)
प्रतिसेकेन्ड– ६.५ युरो (नेपाली ९०८ रुपैयाँ)
🇸🇦✍️A breakdown of Cristiano Ronaldo’s two-year contract with Saudi Arabian club Al Nassr;
💶€200M/year
💶€16.67M/month
💶€3.888M/week
💶€555,555/day
💶€23,150/hour
💶€386/minute
💶€6.5/second💰It’s the BIGGEST CONTRACT EVER in the history of football.#CR7𓃵|#AlNassr pic.twitter.com/Pf97jUXtoP
— FIFA World Cup Stats (@alimo_philip) December 30, 2022