काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने कारागारमा छन् । उनले केन्द्रीय कारागार सुन्धारामा जेल जीवन भोगिरहेका छन् । नाबालिक बलात्कार आरोप लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ मा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
त्यसपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । जेल प्रशासनका अनुसार उनी अरु कैदीहरुसंगै बस्छन् ।
उनलाई भेट्न प्रायजसो परिवारका सदस्य मात्रै पुग्ने गरेका छन् । ‘स्टार’ क्रिकेटरबाट जेल पुगेका लामिछानेको दैनिकी अन्य कैदीहरुको जस्तै छ ।
तर उनलाई क्रिकेट मोहले छाड्न सकेको छैन् । कारागारभित्र रहेको सानो खेलमैदानमा उनी क्रिकेट खेल्छन् । कारागारका कर्मचारीहरुका अनुसार उनले ‘टेनिस’को बलले क्रिकेट खेल्छन् । अरुलाई पनि सिकाउँछन् । उनले कारागारभित्र क्रिकेटको प्रशिक्षकको रुपमा अरुलाई ब्याटिङ र बलिङ गर्न सिकाउने गरेको कर्मचारीहरु बताउँछन् ।
दिनभरी भने उनी क्रिकेट खेल्न पाउँदैनन् । एउटै सानो मैदान भएकाले अन्य खेल पनि त्यहाँ हुने गरेको छ । त्यसैले समय मिलाएर बेला–बेलामा उनी क्रिकेट खेल्न मैदानमा निस्किन्छन् ।सन्दीपविरुद्ध १७ वर्षीया नाबालिकालाई भदौ ५ मा काठमाडौंको पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सो होटेलको सीसीटिभी फुटेजमा सन्दीप किशोरीसंगै देखिन्छन् ।
सन्दीप भदौ ६ गते क्रिकेट खेल्न केन्या पुगेका थिए । उनी केन्याबाटै ‘क्यारेविएन क्रिकेट लिग’ खेल्न जमैका पुगेका थिए । जमैकामै रहेको बेला उनीविरुद्ध प्रहरी वृत्त गौशालामा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।
सन्दीपले आफूसँगै बसेको तर बलात्कार नगरेको दाबी गर्दै आएका छन् । सोही उजुरीका आधारमा उनीविरुद्ध मुद्दा अघि बढेको हो । काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको थियो ।जिल्लाको आदेशविरुद्ध सन्दीपको तर्फबाट उच्च अदालत पाटन निवेदन दिएका छन् । तर उच्च अदालतमा हालसम्म निवेदन उपर सुनुवाइ हुन सकेको छैन् । सन्दीपले नेपालका लागि एकदिवसीय ३० र टि–२० ४४ अन्तराष्ट्रिय खेल खेलेका छन् ।