पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस गएराति करिव साढे ९ बजे राधादी गैरामा दुर्घटना भएको हो ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । उनीहरु एकै गाउँका रहेका छन् । दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ घाइते भएका छन् ।
ज्यान गुमाएकामध्ये एक जनाको भने परिचय खुल्न सकेको छैन । तीन जनाको शव दुर्घटनास्थलबाट बाहिर निकालिएको छ भने मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताउनुभयो । घटनास्थल सालझण्डी-९ढोरपाटन सडक खण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि झण्डै १० किलोमिटरको दूरीमा पर्दछ ।