नाबालिग ब’लात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।लामिछाने दुबईबाट पक्राउ परेको नेपाल प्रहरीको स्रोतको दाबी छ । तर, प्रहरीले औपचारिक रूपमा लामिछाने पक्राउ परेको पुष्टि गरेको छैन् ।
लामिछानेलाई नेपाल ल्याउने तयारी सुरु भएको पनि स्रोतले जनाएको छ । प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोगमा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।ब’लात्कारको आरोप लागेसँगै लामिछाने सम्पर्कविहीन भएका थिए ।
केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरिएका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर, नेपाल फर्किएका थिएनन् ।
यो पनि – विश्व क्रिकेटका सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा आक्रामक ब्याटिङ गरेका छन् । भारतीय लेजेन्ड्सको कप्तानी गर्दै इंग्ल्यान्ड लेजेन्ड्सविरुद्ध ४९ वर्षीय सचिनले आक्रामक ब्याटिङ गरेका हुन् ।
इंग्ल्यान्ड लेजेन्ड्सलाई ४० रनले हराउँदै सचिन खेलको प्लेयर अफ द म्याच चुनिए । राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतीय लेजेन्ड्सले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो ।
भारतका सचिन तेन्तुलकरले २० बलमा ३ चौका र ३ छक्कासहित ४० रनको आक्रामक इनिङ खेले । युभराज सिंह १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे ।ओपनर नमन ओझा २०, सुरेश रैना १२ र युसुफ पठान २७ रनमा आउट भए । पठानले ११ बलमा १ चौका र ३ छक्का हाने ।
इंग्ल्यान्डका स्टेफन पेरीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनायो । इंग्ल्यान्डका ओपनर फिल मुस्टर्डले १९ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।
अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका राजेश पवारले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।भारतीय लेजेन्ड्स ४ खेलमा २ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । श्रीलंका लेजेन्ड्स तीन खेलमा अपराजित रहँदै १२ अंकका साथ नै शीर्ष स्थानमा छ ।
वेस्टइन्डिज ४ खेलमा २ मा जितसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।न्युजिल्यान्ड ४ खेलमा १ मा जित र १ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । ८ देश सहभागी यस प्रतियोगितामा बंगलादेश भने तीन खेलमा जित विहीन हुँदै पुछारमा छ ।