काठमाडौं । नेपाल मोटर्सले चीनको चर्चित ब्राण्ड विलिङको सानो ईभी ‘विलिङ मिनि एयर’को मूल्य सार्वजनिक गरेको छ । कम्पनी नाडा ईभी एक्स्पोमा बुकिङ खुल्ला गर्दै मूल्य सार्वजनिक गरेको हो ।
विशेषत सहरी क्षेत्रको लागि उपयुक्त यो मिनि कार बज्र ग्रुपले नेपाल ल्याउन लागेको हो । कम्पनीले २०० किमि रेन्ज दिने भेरियन्टको मूल्य २४ लाख ९९ हजार र ३०० किमि रेन्ज दिने भेरियन्टको मूल्य २९ लाख ९९ हजार तोकेको हो । ईभी शोमा विलिङको स्टल नभएपनि कम्पनीले स्कुटरको शोरुमबाट बुकिङ लिन थालेको हो । बुकिङ गर्न चाहने ग्राहकले २५ हजार रुपैयाँ तिरेर आफ्नो गाडी सुरक्षीत गर्न सक्नेछ ।
‘हामीले इन्डोनेशियामा उत्पादन हुने विलिङ एयर’को बुकिङ खोलेका छौं । यसलाई बुकिङ गर्न चाहनेले २५ हजार तिरेर बुकिङ गर्न सक्नुहुन्छ’, कम्पनीका एजीएम एनके सरदले मेरोअटोसँग भने ।
विलिङ मिनि सन् २०२० बाट चीनमा उत्पादन सुरु भएको हो । अमेरिकी अटो जाइन्ट जनरल मोटर्स र चीनको सबैभन्दा ठूलो गाडी उत्पादक ग्रुप एसएआईसीको समेत लगानी रहेको कारण यसको चर्चा धेरै नै हुँदै आएको छ ।
सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ७ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनि कारको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।
नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको कम रेन्ज दिने स्टायडर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै रहने छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।
दुई सिट र चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।Sorce meroauto.com