चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेम गीत ३ बारे बोलेका छन् । आइतबार बोर्डका अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत फिल्मको हिन्दी संस्करण बारे स्पष्टीकरण दिएका हुन् ।
उनले बोर्डबाट प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध नभएको दाबी गरे। नेपालमा पनि असोज ७ गतेबाट नै हिन्दी संस्करणको प्रेम गीत ३ हलमा रिलिज हुने भनिएपनि अझै हुन सकेको छैन । कतिपयले बोर्डका कारण हिन्दी संस्करणको प्रेम गीत ३ को हल रिलिजमा ढिलाइ भएको टिप्पणी गरिरहेका छन् ।
बोर्डका अध्यक्ष केसीले प्रेम गीत निर्माण पक्षबाट कर चुक्ताको प्रमाणपत्र समयमै प्राप्त नभएकाले स्वीकृतिका लागि ढिलाइ भएको दाबी गरेका छन् । साथै उनले कर चुक्ता प्रमाणपत्र पेस हुनासाथ प्रक्रिया अगाडि बढाइएको पनि बताएका छन् ।
‘मिति २०७९ साल असोज ७ मा करचुक्ता प्रमाणपत्र पेस हुनासाथ सोही मितिमै पुनःस्वराङ्कनको स्वीकृति दिई मिति २०७९ साल असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अ’वरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौँ,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै उनले बोर्डले प्रेम गीत टिमको कार्यको प्रशंसा गर्दै हौसला तथा प्रोत्साहन दिएको पनि स्मरण गराएका छन् । ‘प्रेम गीत ३ चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको स्मरण गराउँदछौँ,’ उनले भनेका छन् ।