गोरखा – जर्मन बेहुला लार्स माक्र्ससँग नेपाली संस्कृतिअनुसार भवानी रेग्मीले विवाह गरेकी छन् । आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन जन्ती गोरखा बजारकी चेलीसित बिहे गर्न एक साता अघिदेखि आएर बसे पछि फागुन कृष्ण त्रयोदशीमा विवाहको लगन जुराइएर बिहे गरिएको हो ।
पुरोहित विष्णु खनालले रीतिरिवाज अनुसार विधि विधान पुर्याएर विवाह गराइदिएका हुन् । नेपाली परम्पराअनुसार विवाह गर्न मैले एकचोटी राखेको प्रस्ताब एकैचोटी मानेको भवानी बताउछिन् । रेग्मी इन्भारमेन्टल इन्जिनियर हुन्।
उनी पढ्न भनेर १३ वर्षअघि जर्मन पुगेकी थिइन्। पढ्ने तथा रोजगारीका क्रममा लार्स माक्र्ससित उनको प्रेम सम्बन्ध स्थापित भयो। प्रेम सम्बन्धलाई नेपाली धर्म, संस्कार, संस्कृतिअनुसार शनिबार विवाहमा परिणत गरिएको हो। जर्मन नागरिक सबैले नेपाली टोपी, नेपाली दौरा सुरुवाल, निधारमा रातो टीका लगाएर नाँचेका थिए ।