केही समय अगाडि मोरङका २७ वर्षीय सञ्जय भण्डारीलाई आफ्नो बुवालाई कलेजो दान गर्नुपर्ने भएपछि दुईटा कुराको डर थियो– म्याच भएन भने के गर्ने र अप्रेसन नै थेग्न नसके के हुने ? बुवा बेलाबखत सिकिस्त बिरामी परिरहने भएकाले पनि कमजोर शरीरले यति ठूलो शल्यक्रिया थेग्छ वा थेग्दैन भन्ने मुख्य द्विविदा सञ्जयलाई थियो ।
अहिले भने सञ्जयको डर हटेको छ । उनको छेवमै बुवा शल्यक्रियापछि मुस्कुराउँदै बात मारिरहेका छन् । शल्यक्रिया अघि बुवा यति टाठोबाठो हुनुहोला भन्ने कल्पनासम्म पनि गर्न सकेका थिएनन् उनले ।
सिरोसिसका कारण बिग्रिएको डम्बरको कलेजोले विस्तारै काम गर्न छोड्न थाल्यो । उपचारका लागि चेन्नई पुग्दासम्म उनको कलेजो फेल नै भइसकेको थियो । चेन्नईको अस्पतालले उनलाई सकेसम्म छिटो कलेजो प्रत्यारोपण गर्न सुझाव दियो । भारतमा प्रत्यारोपणको शुल्क थियो ३५ लाख भारु ।
प्रत्यारोपणपछि डम्बरलाई डिस्चार्ज भएको दुई दिनमा पेट दुख्यो । दुई दिन अस्पताल बसे अहिले भने उनलाई कुनै समस्या देखिएको छैन । घरमै पकाएको मात्र खाइरहेका छन् । चिकित्सकको निरन्तर फलोअपमा गइरहेका छन् ।
छोराले पुर्नजीवन दिएकोमा कृतज्ञ छन् उनी । ६ महिनासम्म बेडरेस्ट गरेपछि काममा फर्किने सोचेका छन् उनले पनि । ‘यसले छोरो हुनुको कर्तव्य पुरा गर्यो । बचायो । दोस्रो जुनी दियो,’ डम्बरले छोरोको कपाल मुसार्दै भने ।