काठमाडौं ।
नेपाली क्रिकेट टिमका निलम्बित सदस्य सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । बला’त्कारको आ’रोपपछि प्रहरीको निगरानीमा रहेका उनी यही ६ अक्टोबरमा नेपाल फर्किने भएका हुन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू स्वदेश फर्किने मिति तोकेका हुन् ।
‘ठूलो आशा र शक्तिका साथ म यही ६ अक्टोबर २०२२ मा आफ्नो देश नेपाल आइपुग्नेछु । र, झुटा आरोपविरुद्ध कानुनी लडाईं लड्नेछु । म निर्दोष छु । र, न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनेर दोहोर्याउँछु,’ सन्दीपले लेखेका छन्, ‘सबै कानुनी निकायहरू र सम्मानित अदालतबाट निष्पक्ष सुनवाइ र निर्णय हुनेमा म दृढ विश्वस्त छु । म छिटोभन्दा छिटो न्याय पाउने आशावादी छु ।’
उनले अगाडि लेखेका छन्, ‘मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु । र, मैले कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु । मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएर आफूलाई निर्दोष र षड्यन्त्रको सिकार सावित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । ममाथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा म विश्वस्त छु ।’
५ भदौमा सन्दीपले आफूमाथि बला’त्कार गरेको भन्दै २० भदौमा एक किशोरीले जाहेरी दिएकी थिइन् । उनको जोहरीपछि प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य अगाडि बढाएको थियो । आरोपित देश बाहिर भएकाले प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिन सकिरहेको छैन । उनी केन्याविरुद्धको टी–२० सिरिजपछि उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि वेस्ट इण्डिज गएका थिए ।
उनी यो सिजनको सीपीएलका लागि जमैका तल्लावाजमा अनुबन्ध भएका थिए । तर, बला’त्कारको जाहेरी परेपछि सन्दीपले एक म्याच पनि खेल्न पाएनन् । उनी अनबुन्ध भएको जमैकाले आज बिहान मात्र सीपीएल उपाधि जितेको छ । बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै जमैकाले तेस्रोपकट सीपीएल उपाधि जितेको हो ।